सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

१५ गतेको जनसभालाई वृहत् बनाउने समाजवादी मोर्चाको निर्णय

शुक्रबार, चैत्र १ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक बसेको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) सम्मिलित चार दलीय समाजवादी मोर्चाको बैठकले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तक्रिया राखेको छ । सोही दिन दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौंमा विरोधसभा राख्ने निर्णय गरेको थियो ।

फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठूलो संख्यामा राजावादी दल र राजसंस्थाका समर्थकहरूले प्रदर्शन गरेपछि व्यवस्थामाथिको चुनौतीको रूपमा मोर्चाले विश्लेषण गरेको छ ।

समाजवादी मोर्चाका नेताहरूले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिएका छन् ।