काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे । “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भने । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा ९होली० पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन्।
फागुपूर्णिमा ९होली० पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
“फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वर्द्धन गर्न जरूरी छ”, उपराष्ट्रपति यादवले भनेका छन् ।
आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पुर्याउन होली एउटा उत्तम माध्यम भएको उनको भनाइ छ । उपराष्ट्रपति यादवले फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसमा र त्यसको भोलिपल्ट तराई–मधेसमा फागुपूर्णिमा, होली, होरी, फगुवा, रङपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रहिआएको छ । होली पर्व विभिन्न नामबाट मनाइए पनि यसको सारतत्व आपसी सद्भाव, भाइचारा र मेलमिलापका साथ खुसी साटासाट गर्नु नै हो । प्राचीनकालमा चन्दन र अबिर लगाएर होली मनाइने गरिएकामा पछिल्ला केही वर्षयता कृत्रिम र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने रङहरूको प्रयोग बढ्नु राम्रो नभएको उपराष्ट्रपति यादवको भनाइ छ ।