काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए ।
त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘देशलाई प्रतिगमनतिर लागे जुन हर्कतहरु चलिरहेका छन्, यो नेपाली जनताको निम्ति स्वीकार्य छैन । र नेपाली जनताको साझा भावना र उद्देश्यको प्रतिनिधित्व गरिरहेको समाजवादी मोर्चाको लागि यो सह्य छैन । नेपालका कम्युनिष्ट र वामपन्थीहरुका निम्ति यो सह्य छैन । यो प्रतिक्रान्ती हर्कत भनेको नेपाली जनताको दुर्दशा निम्त्याउने, देशलाई अशान्तीतिर धकेल्ने र देशलाई फेरि भड्कालोमा हाल्ने कदका रुपमा आउन थालेको छ । अगामी चैत्र १ गते बिहान नेपालका सबै बुद्धिजिवीहरुसँग एउटा परामर्श र छलफल कार्यक्रम तय भएको छ । त्यही दिन दिउँसो ३ बजे मोर्चाले पत्रकार सम्मेलन गरेर आम जनतालाई अपिल गर्ने दोस्रो निर्णय भएको छ । अगामि चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलापमा काठमाडौं विरोध सभा आयोजना गर्ने निर्णय गरिएको छ ।’