काठमाडौं । पोखराबाट आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किदै छन् ।
माघ २७ गते समिट एअरको जहाज चार्टर गरेर परिवारसहित पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्किने भएपछि उनका समर्थक तथा राजावादी दलहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।
उनका समर्थकले ‘भव्य’ स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ ।
राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको छ ।
पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको जानकारी दिए ।
काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन) बाट आउनेहरूलाई तीनकुनेमा भेला हुने आग्रह गरिएको शाही बताए ।
नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ ।
यसैबीच आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।
शाहको स्वागतमा लागि लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो ।