काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुलमान घिसिङबारे सरकारको चासोलाई अनावश्यक भन्दै त्यसको आलोचना गरेका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले भने “तीन–चार महिनापछि सेवानिवृत्त हुन लागेका व्यक्तिको पछि लागेर सरकार किचकिच गरिरहेको छ, यो बेठिक हो”, उनले भने, “पचास राम्रो काम गर्दा एउटा नराम्रो भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । राम्रो गर्न सकिँदैन भने कम्तीमा नराम्रो काम नगर्नोस् ।”
मन्त्रीहरूलाई सही मार्गमा लैजान महामन्त्री थापाले प्रधानमन्त्रीसँग आग्रहसमेत गरे । “प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीले पाउँछन्, नराम्रो कामको अपजस पनि लिनुपर्छ” उनले भने । सङ्घीयताको मर्मअनुसार प्रदेशलाई थप अधिकार दिनुपर्ने र सरकारको कार्यसम्पादन सुधार गर्नुपर्ने उनको धारणा थियो ।
थापाले सरकारको आकार सानो बनाउनुपर्ने समेत बताए ।
सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०–१२ वटा मात्र बनाउनुपर्ने सुझाव उनले दिए । “ मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ”, उनले भने ।
महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने, “प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्छ ।” प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए ।