मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रतिनिधि सभाबाट स्वीकृत पाँच अध्यादेश राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । सरकारले गत माघ १२ गते ल्याएका अध्यादेशमध्ये पाँचवटा अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको हो । अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्दा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरू भने विपक्षीमा उभिएका थिए ।

सत्तारूढ दलबीच भएको सहमतिअनुसार भूमिसम्बन्धी अध्यादेश भने प्रतिनिधि सभामा निणयार्थ पेस गरिएन । ६ वटै अध्यादेश गत माघ १८ गते दुवै सदनमा पेस भएका थिए । प्रतिस्थापन विधेयक ल्याउन अध्यादेश दुवै सदनबाट स्वीकृत गराउनुपर्छ ।

राष्ट्रिय सभामा आज (बिहीबार) स्वीकृतिको लागि निर्णयार्थ पेस हुँदै छन् । बिहीबार राष्ट्रिय सभाले पनि अध्यादेश स्वीकृत गरेको खण्डमा सरकारलाई विधेयक ल्याउने बाटो खुल्नेछ । अध्यादेशले गरेका नयाँ व्यवस्था र संशोधित व्यवस्थाले निरन्तरता पाउन प्रतिस्थापन विधेयक आएर पास भएर ऐनमा रूपान्तरित हुनुपर्छ । यसका लागि सरकारलाई संसद् अधिवेशन सुरु भएपछि ६० दिनको समयसीमा हुन्छ । गत माघ १८ गते संसद् अधिवेशन सुरु भएकाले सरकारलाई त्यसको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने दबाब छ ।

यसअनुसार सरकारसँग अब एक महिनाभन्दा कम समय बाँकी छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि अध्यादेश निर्णयार्थ प्रस्तुतको विषय स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउनेसम्बन्धी कार्यसूची स्थगित गरेका थिए । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश तत्काल संसद्मा होल्ड हुने भएको छ ।

ती ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ ।

सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा ती अध्यादेश पेश हुनेछन् ।