काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरुलाई बोकेर आएको चार्टर विमान काठमाडौंमा अवतरण भएको छ ।
आज विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी -२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं छोडिदिएको हो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।
याेसहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । विमान मार्फत नेपालमै छोडिदिएको भने यो पहिलो घटना हो ।
अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ ।