काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखेका छन् ।
शनिबार बुटवलमा राप्रपाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखे ‘राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ, जसलाई दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था ल्याउनुपर्छ,’ उनले भने ।
वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाउँदै उनले मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजिएको, तर जनताको असन्तोषलाई बेवास्ता गरिएको बताए। ‘देशमा उजुरी गर्न पाइन्छ, तर कारबाही हुँदैन । यस्तो व्यवस्थाले अब कुनै हालतमा काम गर्ने छैन’, उनले भने । उनले नेपालका लागि वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्लाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नेजस्ता प्रस्ताव अघि सारे । ‘नेपाल जस्तो सानो देशमा यति धेरै जनप्रतिनिधि पाल्न सकिँदैन, अन्य तहहरूमा कटौती गर्नुपर्छ,’ उनकाे भनाइ थियाे ।
अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको तथा जनताको अवस्था झनै दयनीय बनेको बताउँदै भने, ‘देशमा हिजोदेखि नै भ्रष्टाचार थियो, तर अहिले झन् संस्थागत बनाइएको छ ।’ विदेशिएका युवाको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उनले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाए । ‘हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो,’ उनले चेतावनी दिए । साथै, उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कँदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना गरे ।
अध्यक्ष लिङ्देनले पार्टी संगठन विस्तार गर्दै आगामी दिनमा देशभर शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको समेत बताए ।
नेपालको परराष्ट्र नीतिबारे बोल्दै उनले कुनै पनि देशको प्रभावमा नपरी स्वतन्त्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्री चीन जाओस् या अमेरिका, उनीहरू कुनै देशका कालिन्दा होइनन्,’ उनले स्पष्ट गरे।
शनिबारको कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । लुम्बिनीमा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, सहमहामन्त्री ताहिर अली, केन्द्रीय सल्लाहकार समिति संयोजक निरञ्जन थापा, सचिव प्रदीप उदयसहितका नेताहरूको गृहप्रदेश हो ।
कार्यक्रममा पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।