बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, अध्यादेशबारे निर्णय गरिने

शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्रीको सचिवालयले पछिल्लो केही दिनयता सत्तारूढ दलको बीचमा छलफल हुन नसकेकाले बैठक बोलाइएको जनाएको छ ।

केही समय पहिलेसम्म नियमितजस्तै संयन्त्रको बैठक बस्दै आएको भए पनि पछिल्लो समय गृहमन्त्री र परराष्ट्रमन्त्रीको व्यस्तताले छलफल हुन नसकेको सचिवालयको भनाइ छ ।

बैठकमा संसद्मा विचाराधीन विधेयक, सरकारका काम कारबाही र अध्यादेशका विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संयन्त्रको बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिँदै भने, ‘प्रधानमन्त्री, हाम्रो सभापतिसहित संयन्त्र, कार्यदल, प्रमुख सचेतकसहितलाई बोलाइएको छ । सरकार र संसद्का नियमित कामबारे छलफल हुन्छ । अध्यादेशलाई एजेण्डाका रूपमा नराखे पनि अब कसरी अगाडि बढ्ने भनेर छलफल हुन्छ ।’

सत्तारूढ कांग्रेस–एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय संयन्त्र गठन गरेका थिए ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन।

आजको बैठकले अलपत्र परेको अध्यादेशबारे निर्णय गर्ने स्रोतले जनाएको छ । आज नै अध्यादेशका लागि निर्णायक छलफल जसपा नेपालले पनि गर्दैछ । जसपा नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञको सहभागितामा भूमि सम्बन्धी अध्यादेशउपर बृहत् अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ताको रूपमा रहनेछन् ।

विज्ञ वक्ताको रूपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादवलाई आमन्त्रित गरिएको छ ।