मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रकृति लम्सालका बुवासँग प्रधानमन्त्रीको टेलिफोन सम्वाद

मंगलबार, फाल्गुन १३ २०८१

काठमाडौं । भारतको उडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी परिवारलाई समवेदना दिएका छन् ।

कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको भन्दै समवेदना प्रकट गरे ।

सोमबार बिहान सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनीस्थित लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन गराएका थिए ।

उनको न्यायको लागि भैरहवा स्थित उनको घरमा गएर बुवाआमा र परिवारलाई भेटेर समवेदना प्रकट गरेको एमाले नेता बस्नेतले जानकारी दिए ।

नेता बस्नेतका अनुसार प्रधानमन्त्री ओलीले समग्र विषयमा थप जानकारी लिएको र प्रधानमन्त्रीले प्रकृति लम्सालको न्यायको लागि पहल गर्ने र घटनामा संलग्न अपराधीहरुलाई कारबाही गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका नेता बस्नेतको मोबाइलबाट भएको संवादमा बोल्दै प्रधानमन्त्री ओलीले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारत अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको हकमा सुरक्षाको पहल समेत गरिरहेको जानकारी गराएका थिए ।

प्रकृतिका बुवा सुनिलले आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताएका थिए । कुराकानीमा सुनिलले भने, ‘‘अब हाम्रो त घटना भइसक्यो, होइन। घटना भइनै सक्यो। त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस्। हजुरको तर्फबाट राज्यले पहल गरिदेओस्। घटना घटिसक्यो। दुर्घटना भइसक्यो।’’

प्रकृतिको बुवा सुनिल लम्साल, आमा सुनिता शर्मा लम्साल र परिवारलाई भेटेर बस्नेतले समवेदना प्रकट गरेका छन् ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षिय प्रकृति लम्साल होस्टेलमा मृत भेटिएकी थिइन् ।