मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आजदेखि जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान, झापा पुगे शीर्ष नेताहरु

सोमबार, फाल्गुन १२ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान शुरु गर्दैछ।

अभियानको शुरुवात झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू हिजै झापा पुगि सकेका छन्।

दिउँसो १२ बजे कचनकवल गाउँपालिका–७बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष समेत रहेका झापाका युवा नेता रन्जित तामाङले बताए ।

तालिकाअनुसार कोशी प्रदेशको झापामा फागुन १२ गते, मोरङमा फागुन १३ र सुनसरीमा फागुन १५ गते कार्यक्रम हुने छ।

यस्तै मधेश प्रदेशको सप्तरीमा फागुन १६, सिरहामा फागुन १७, धनुषामा फागुन १८, महोत्तरीमा फागुन १९, सर्लाहीमा फागुन २१, रौतहटमा फागुन २२, बारामा फागुन २३, पर्सामा फागुन २४ गते हुने छ।

त्यसैगरी बागमती प्रदेशको चितवनमा फागुन २५, गण्डकीको नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६, लुम्बिनीको परासी (नवलपरासी पश्चिम) मा फागुन २७, रुपन्देहीमा फागुन २८ र कपिलवस्तुमा चैत्र २ गते कार्यक्रम गरिने छ।

यस्तै दाङमा चैत्र ३, बाँकेमा चैत्र ४ र बर्दियामा चैत्र ५ गते र सुदूरपश्चिम प्रदेशको कैलालीमा चैत्र ६ र कञ्चनपुरमा चैत्र ७ गते कार्यक्रम हुने तालिकामा उल्लेख छ।

माओवादीको गत पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ।