काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको लागि सोमबार दरखास्त आह्वान गरेको छ ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका उम्मेदवारहरुले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ ।
आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ लाग्ने छ । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा आवेदन दस्तुर बुझाएको सक्कल भौचर आवेदनसाथ संलग्न गर्नुपर्ने छ ।
आइतबारमात्रै उक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको थियो ।
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्।
