मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आगलागीपीडितका लागि ११ लाख बढी राहत सङ्कलन

मंगलबार, फाल्गुन ६ २०८१

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागीपीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु १० लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो ।

आगलागीपीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुईरदुई दिन तथा शिक्षक र करारका कर्मचारीको एकरएक दिनको सेवासुविधा उपलब्ध गराएका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए । उनका अनुसार माछापुच्छ्रे बैंक हलेसी शाखामा खाता खोलेर ‘क्युआर’मार्फत रकम जम्मा गर्न मिल्नेगरी राहत सङ्कलन अभियान सुरु गरिएको हो ।

वडा नं ७ महादेवस्थानस्थित हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा यही फागुन ४ गते आइतबार राति भएको आगलागीबाट पीडित बनेकाहरूका लागि दुई महिना आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता गिरीले बताए । नगरप्रमुख विमला राईको संयोजकत्वमा राजनीतिक दल, रेडक्रस, होटल व्यवसायी, इलाका प्रहरी कार्यालय, समाजसेवी, विभिन्न सङ्घसंस्था र स्थानीयवासीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

हलेसी बजारका स्थानीयवासी पदमशेर राईको भान्छा कोठाबाट सुरु भएको आगोले चार वटा घर, तीन वटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको थियो । खाना पकाउने क्रममा ग्यास चुहावट भएर सुरु भएको आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय सहितका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको थियो ।

साँझ करिब ७ बजेदेखि सुरु भएको आगलागीबाट स्थानीय आइराख राईको न्यू कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी रु दुई करोड ५० लाख बराबरको क्षति भएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए । आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा रु ३० लाख बराबरको क्षति भएको जनाइएको छ ।

आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारुहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी रु ५० लाख बराबरको भएको छ । हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले देखाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका निमित्त प्रजिअ राईले उल्लेख गरे ।

“रातको समयमा भएको आगलागी नियन्त्रणमा लिनका लागि जिल्लाबाट रणभीम गण मुढे ब्यारेक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गुल्म, जिल्ला प्रशासन, जिल्लावासीलगायत गरी करिब पाँच सय जना खटिएका थिए । साँझ करिब ७ बजेतिर सुरु भएको आगो साढे चार घण्टापछि ११ः३० बजेमात्र नियन्त्रणमा आएको थियो”, उनले भने ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले बताए। उनका अनुसार मध्यपहाली लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी खण्डमा पर्ने हलेसी बजारमा दमकल अभावका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो ।