काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन । कार्यक्रम उद्घाटनका क्रममा मन्त्री पौडेलले डिजिटल माध्यमबाट बालेको झिर्झिरे क्यान्डलको झिल्काले भेटेर बेलुनको झुप्पा पड्किँदा उनीहरू घाइते भएका हुन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर दियो र झिर्झिरे क्यान्डल बालिएको थियो । त्यसलगत्तै भ्रमण वर्ष लेखिएको ब्यानरसहितका बेलुनहरू उडाउन खोजिएको थियो ।
बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको थियाे । कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

यसैबीच उहाँहरुको अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल कीर्तिपुर बर्न अस्पताल पुगेका छन्।
अस्पतालमा उपचाररत घाइते नेताहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मन्त्री पौडेलले जलन उपचारलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
‘जलन उपचार सहज, छिटो र प्रभावकारी बनाउने वातावरण तयार पार्न हामी लागि परेका छौं,’ उनले भने, ‘सुधारका कामले नतिजा दिन थालेका छन्।’
उनले अस्पतालका चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पताल सेवाको निरीक्षणसमेत गरे। उनले जलनपीडित जो-कोहीका लागि प्रभावकारी उपचार सुनिश्चित गर्न स्वास्थ्य सेवा विस्तार र सुधारमा मन्त्रालयले विशेष ध्यान दिएको बताए।