मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सरकारले श्रमजीविको हकअधिकार र श्रमको उचित मूल्यांकन गर्न सनेन : प्रभु साह

आइतबार, माघ २७ २०८१

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रमजीविको हकअधिकार सहित उनीहरुको श्रमको उचित मूल्यांकन सरकारले गर्न नसकेको बताएका छन् ।

बर्तमान सरकारको कारण श्रमजीविहरुले आफ्नो श्रमको उचित मूल्य नपाएको उनले बताए ।

आजपा निकटको आम निर्माण श्रमिक संघको  शनिबार कोटेश्वर, काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले श्रमजीवि वर्गको रोजगारी, सुरक्षा, सम्मान एवं समृद्धिको बिषयमा सरकार भगौडा जस्तो भागेर हिडिरहेको आरोप लगाए ।

‘मुलुकको विकास, समृद्धिका लागि दिनरात मिहिनेत गर्ने श्रमजीविहरुले अहिलेको बदलिदो समय अनुसार श्रमको मुल्य पाउँन सकेका छैनन् । उनीहरुको श्रमको उचित मुल्यांकन गरेर श्रमको मुल्य निर्धारण गर्नुपर्ने सरकार अहिले भगौडा जस्तो भागेर हिडिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘श्रम गरेपछि श्रमिकले उचित मुल्य पाउँनुपर्छ, बदलिदो समय अनुसारले सरकारले श्रमिकको पारिश्रमिक निर्धारण गर्नुपर्छ तर सरकार श्रमिकबाट भागेर मालिकहरुको सेवामा लागेको छ ।’

सरकार श्रमिकको सरकार नभई मालिक, बिचौलियाको सरकार भएको टिप्पणी उनले गरे । बिचौलियाहरुले मध्यरातमा बनाईदिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार श्रमिकको नभई बिचौलियाकै सेवामा लागेकाले मुलुक असफलता तिर गईरहेको उनले बताए ।

सरकारले मुलुकमै रोजगार दिन नसकेपछि अहिले युवाहरुले रोजगारका लागि विदेशिने क्रम बढेको उनले बताए । नेपालमा स्वस्थ्य रहेको प्रमाणित भएपछि रोजगारका लागि विदेश गएको भए पनि तिनीहरुको कसरी मृत्यु हुन्छ त्यसबारेमा सरकारको कुनै चासो नभएको उनले बताए ।