मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बहाना बनाएर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ‘किचलाे जग्गा’ मा सार्ने दाउ

बिहिबार, माघ २४ २०८१

भक्तपुर । भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई उपलब्ध जग्गामा अनेक थरी बहाना बनाएर प्रत्यारोपण केन्द्र नै अन्यत्र सार्ने दाउ गरेको पाइएको छ ।

चाँगुनारायण नगरपालिकाको ३ नं वडाका वडाध्यक्ष श्याम सुन्दर धिमालले अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न आनाकानी भइरहेको र अस्पतालले बिभिन्न बहानबाजी गर्दै व्यत्तिगत लाभका लागि केन्द्र अन्यत्र विवादित जग्गामा सार्न चाहेकाे आराेप लगाए ।

अहिले बहानाबाजी गरिएर भवन निर्माण नगरिएको जग्गा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्राडा प्रेम राज ज्ञवाली, स्वास्थ्य मन्त्रालयको टोली समेतले २०७७ सालमा गरेको स्थलगत निरीक्षण पश्चात प्रत्यारोपण केन्द्रका लागि भवन निर्माणमा सो जग्गा उपयुक्त हुने ठहर गरी दुबै पक्ष सहमतिमा पुगेकाे थियाे ।

यसअघि प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ झौखेलमा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि चयन गरेको थियो । उक्त स्थान नै अस्पताल बनाउनका लागि भौगोलिक रुपमा योग्य ठहर भएपछि अस्पतालले २०७७ साल असोज २१ गते सो जग्गा प्राप्तिका लागि चाँगुनारायण नगरपालिकासँग माग गरेको थियो । नगरपालिका कार्यपालिकाले अस्पतालको माग बमोजिम साेही बेला उक्त जग्गा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णयसहित अस्पताललाई पत्राचारसमेत गरेको थियाे ।

अस्पतालले त्यस लगत्तै उक्त जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको थियो ।  स्वास्थ्य मन्त्रालयले पनि साेही बर्षकाे कात्तिक ५ गते नै सचिवस्तरीय निर्णय गरेर माग गरिएको जग्गाका लागि अनुमतिसमेत दिइसकेको थियो ।

अस्पतालले त्यसलगत्तै लिजमा जग्गा उपलब्ध गराउनका लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरिपाऊँ भनेर जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग माग गरेको थियो । उक्त मागका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको बैठकले वार्षिक न्यूनतम ३ लाख ३१ हजार ९८० रुपैयाँ राजस्व तिरेर ३१ रोपनी ७ आना जग्गा लिजमा उपलब्ध गराउन नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयलाई सिफारिससमेत गरिसकेको थियो ।

मन्त्रालयले उक्त जग्गा अस्पताललाई उपलब्ध गराउन मंसिर १७ गते मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो । २०७८ साल जेठ १३ गते बसेको मन्त्रिपरिषद् वैठकबाटै सो जग्गा अस्पताललाई उपलब्ध गराउने निर्णय भएपछि मालपोत कार्यालय र अस्पतालबीच जेठ १८ बाट नै जग्गा अस्पतालको नाममा लिजमा दिने सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

फेरि यतिबेला जग्गाधनी प्रमाणपत्र अस्पतालले आफ्नै नाममा लिएर पनि जग्गाको अभावलाई अस्पताल विस्तारको बाधाका रुपमा देखाइनु अस्पताल प्रशासनको भिन्न उद्धेश्य रहेको प्रष्टिन्छ ।

अस्पताललाई निर्माण कार्य सुरु गर्नका लागि धेरैपटक अनुरोध गर्दापनि वेवास्ता गरिरहेको छ ।

४०० शैयामा अस्पताललाई विस्तार गर्नका लागि भनी लिइएको जग्गामा आवश्यक सबै सहयोग आफूहरुले गर्ने प्रतिबद्धता गरेको भएतापनि अस्पताल प्रशासन इच्छुक नदेखिएको वडाध्यक्ष धिमालले आक्षेप लगाए । अस्पतालले पनि निर्माण कार्य अगाडि बढाउन कुनै योजना नबनएको र मानव अंग प्रत्यारोपण केन्द्रको नाममा उक्त जग्गा रहेका कारण त्यहाँ अन्य केही सञ्चालन गर्न नपाएको गुनासो वडा अध्यक्ष घिमालको रहेको छ ।

खेल उद्यान र जेष्ठ नागरिकका लागि पार्क बनाउने योजना बनाइएको उक्त स्थानमा देशभरका नागरिकलाई सेवा दिने अस्पताल बन्दा सबैका लागि सहज हुने सोचेर अस्पताललाई जग्गा उपलब्ध गराएको वडा कार्यालयको भनाई छ । तर, प्रत्यारोपण केन्द्रले रोकेका कारण उक्त जग्गामा केही पनि गर्न नपाएको र अस्पताल बनाउनका लागि सक्दो सहयोग गर्ने भन्दै गर्दा पनि अस्पतालले निर्माण कार्य अगाडि नबढाउँदा उक्त जग्गा त्यतिकै खाली रहेकामा समेत वडा अध्यक्षको असन्तुष्टि रहेको छ ।

यसैबीच प्रत्यारोपण केन्द्र निर्माणका लागि भनिएको जग्गा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गत माघ १७ गते निरीक्षणसमेत गरेका छन् ।

उपप्रधान पौडेलले नेतृत्वको निरीक्षण टोलीले प्रत्यारोपण केन्द्र निर्माणको लागि लिएको चागुनारायण वडा नं ३ को जग्गा निरीक्षण गरेका हुन् ।

जग्गा निरीक्षण उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिहंका साथमा बागमती प्रदेश सभासदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री उपप्रमुख रमेश बुढाथोकी, उपत्यका विकास आयुक्त जानुका ढकाल, पूर्व सचिव मणिराम गेलाललगायतले निरीक्षण गरेका थिए ।

निरीक्षण टोलीलाई चाँगुनारायण नगरपालिका वडा नं ३ का वडाध्यक्ष धिमालले अस्पताललाई प्रदान गरिएको जग्गाबारे व्रिफिङसमेत गरेका थिए । उपप्रधानमन्त्रीद्वयको टोलीले उक्त जग्गा प्रत्यारोपण केन्द्रका लागि भवन निर्माणमा उपयुक्त हुने आसय व्यक्त गरेको वडाध्यक्ष धिमालले बताए ।

यता अस्पताल प्रशासनले जग्गा अभाव भएको र भएको जग्गा पनि भिरालो, सिमांकन यकीन गर्ने नसकिएको, सडक साँघुरो भएको र सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएको भन्ने धारणा राख्दै आएकाे छ ।

प्रत्यारोपण केन्द्रले मिति २०८१।०९।०३ मा चाँगुनारयण नगरपालिका नगर कार्यपालिकाको कार्यालय, खरीपाटीलाई पत्र लेख्दै झौखेलमा करीब ३१ रोपनी जग्गा लिजमा उपलब्ध गराएको जग्गा भौतिक रुपमा डाँडा, ढिस्को र भिरालो भएको, जग्गाको माथि पट्टीको भागमा खानेपानी ट्याँकी र बस्तीहरुको रहेको कारण बस्ती जोखिममा पर्ने र अस्पतालको भवन बनाउनको लागि जग्गा सम्य्याउनको लागि निकै समय र पैसा खर्च हुने लगायतकाे बहाना गरेकाे पाइन्छ । यस्तै सडक साँघुरो भएको र सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएको हुँदा इमेर्जेन्सी डाइलाइसिस गर्न र उपचारको लागि आउने विरामीलाई कष्टकर हुने भएकोले तत्काल उक्त जग्गामा केन्द्रको सेवा विस्तार गर्न उपयुक्त नभएको उल्लेख गरेको छ ।

साथै भक्तपुर जिल्ला साविक सुडाल गा वि. स वडा नं ४ स्थित कित्ता नं २८५ को १२ रोपनी ४ आना र वडा ९ स्थित कित्ता नं १६ को २२ रोपनी गरी जम्मा ३४ रोपनी ४ आना सरकारी जग्गा यस केन्द्रको सेवा विस्तारको लागि उपयुक्त हुने बताउँदै आवश्यक सहयोग गरिदिन अनुरोधसमेत गरेको छ ।

यस्तै प्रत्यारोपण केन्द्रले सरकारले जग्गा उपलब्ध गराएको खण्डमा ६ महिनाभित्रै आफ्नै कमाईबाट अस्पतालको भवन निर्माण गर्ने दाबी गर्दै आएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले हाल भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पतालका लागि निर्माण गरिएको साँघुरो भवनबाट सेवा दिँदै आएको छ ।

प्रत्यारोपण केन्द्रले माग गरेको साविक सुडालको जग्गामा किचलो

भक्तपुर जिल्ला साविक सुडाल गा. वि. स. वडा नं ४ स्थित कित्ता नं २८५ को १२ रोपनी ४ आना र वडा ९ स्थित कित्ता नं १६ को २२ रोपनी गरी जम्मा ३४ रोपनी ४ आनाको दुई वटा  सरकारी भनिएको जग्गामा किचलो रहेको पाइएको छ ।

सो जग्गा काठमाडौं महानगरपालिका ११ की सावित्रि राणाले आफ्नो नाममा दर्ताका लागि मालपोत कार्यालय भक्तपुर, मालपोत विभाग बबरमहल, काठमाडौं र चागुनारायण नपा वडा नम्बर ८ लाई विपक्षी बनाइ मुद्दा दायर गरिएकोमा उच्च अदालत पाटनले विपक्षीको नाममा २० ७७ साल फागुन २९ गते परमादेशसमेत जारी गरिसकेको अवस्था छ ।  यता सर्वोच्च अदालतले समेत उच्चको उक्त आदेश नै सदर गरिसकेको अवस्था छ ।

हेर्नुहोस् उच्चको आदेश

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्राडा प्रेम राज ज्ञवाली भएको अवस्थामा भवन निर्माणमा सहमति भइसकेको अवस्था थियो । तर हालका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ आएपछि उक्त जग्गालाई विभिन्न बहानबाजी गरी अन्यत्र त्यो पनि विवादित जग्गामा सार्ने गरी भएको पहललाई स्थानीय प्रतिनिधिहरुले आशंका व्यक्त गरेका छन् ।

अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न आनाकानी मात्र होइन विवादित जग्गामा लैजाने गरी पत्राचार भएपछि हालका निर्देशक श्रेष्ठको मक्सदप्रति शंका उब्जिनु स्वाभाविक हाे ।