काठमाडौं । महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो ।
नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई/दुई खेल हारिसकेको नेपालले पाँचाै खेल खेल्दैछ ।
उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो।
उपाधिको गणितीय सम्भावना कायमै रहेको थाइल्याण्डसँगको खेल मंगलबार नेपालले गुमाएको हो।
नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको छ। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।
प्रतियोगितामा अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्सले चार अंक जोडेको छ। चार खेल खेलिसकेको नेपाल अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ।
नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन् ।