काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने गएराति नै चितवन पुगेका छन् ।
मंगलबार राति ११ बजे चितवन पुगेका उनी आज जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।
रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छ वटा संस्था रहेका हुन् ।
यसअघि असोज ८ मा १७ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालयले जीवि राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन । जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग आज दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ ।