शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

यूृ-१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा नेपालकी कप्तान पूजा

मंगलबार, माघ २२ २०८१

काठमाडौं । नेपालकी कप्तान पूजा महतो आइसिसी यू-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेकी छन् ।

आइसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीको सूचीमा पूजा अटाएकी छन्। मलेसियामा आइतबार सम्पन्न आइसिसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।

पूजा आइसिसीको टिममा पर्ने एसोसिएट खेलाडी हुन् । उनले विश्वकपको चार खेलमा ७० रन बनाउनुका साथै नौ विकेट लिएकी थिइन् । आइसिसीको टिममा विजेता भारतबाट चार, उपविजेता दक्षिण अफ्रिकाबाट तीन, इंग्ल्याण्डबाट दुई तथा नेपाल, श्रीलंका र अष्ट्रेलियाबाट एक-एक खेलाडी परेका छन् ।

सूचीमा भारतका ४ खेलाडी समावेश छन् । दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी सूचीमा अटाएका छन् ।

भारतबाट गोंगडी तृषा, जी कमलिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाका जेम्मा बोथा, कायला रेनेके र न्थाबिसेङ निनि, इङ्ग्ल्याण्डका डेभिना पेरिन, कटिइ जोन्स, श्रीलंकाकि चामोदी प्रबोद र अस्ट्रेलियाकि काइम्हे ब्रेउ पनि टोलिमा समेटिएका छन् ।

पहिलोपटक यू-१९ विश्वकप खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणका तीन खेलमा पराजित भएको थियो । नेपालले प्लेअफ खेलमा भने आयोजक मलेसियालाई सात विकेटले हराएको थियो ।