बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बन्दले पूर्वी जिल्लाको जनजीवन प्रभावित

आइतबार, माघ २० २०८१

काठमाडौं । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०-२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको छ।

बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।

प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तर्फ यातायात संचालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरुमा सवारी संचालनमा अबरोध भइरहेको अबस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको अबस्था छ ।

पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने आन्दोलनरत पक्षको भनाइ छ ।