काठमाडौं । अमेरिकन एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु पुष्टि भएको छ । उद्धार टोलीले १८ जनाको शव बरामद गरेको बीबीसीले जनाएको छ । खोजी टोलीले अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन।
घटनास्थलमा रहेका एकजना प्रहरी अधिकारीले कम्तीमा पनि १८ वटा शव नदीबाट निकालिएको बताएका छन्। गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यून विन्दूमा पुगेको तापक्रमका माझ उक्त नदीमा खोज तथा उद्धार कार्य गरिरहेका छन्।
क्यानसस राज्यबाट उडेको उक्त विमान अमेरिकी राजधानीको मध्यमा अवस्थित रेगन न्याश्नल विमानस्थलमा अवतरण गर्न लागेको थियो। विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीनजना सैनिक रहेको बताइएको छ। सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको बताइएको छ।
उड्डयन विज्ञहरूले रेगन विमानस्थल देशको सबैभन्दा व्यस्तमध्येमा पर्ने र त्यहाँ राजधानी माथिको हवाई मार्गको आकाश प्रायः हवाईयातायातले भिडभाडपूर्ण रहने गरेको बताएका छन्। -बीबीसी