व्यवस्थापनको मोडालिटि अन्तिम चरणमा
काठमाडौं । नेकपा माओवादी केन्द्रको पुस (२१–२३) सम्पन्न केन्द्रीय समिति बैठकले अखिल क्रान्तिकारीबाट उमेरहदका कारण बाहिरीएका बिद्यार्थी नेताहरुको व्यवस्थापनका लागी कार्यदल गठन गरेको थियो । माओवादि केन्द्रका उपमहासचिव शक्ति बहादुर वस्नेतको नेतृत्वमा गठन भएको कार्यदलमा केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्मा र केन्द्रिय सदस्य तथा संगठनकी निवर्तमान अध्यक्ष पञ्चा सिंह सदस्य रहेका थिए।
उक्त कार्यदलको विभिन्न चरणमा भएको बैठकले व्यवस्थापनको माडालिटीको प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ । कार्यदलले विद्यार्थी नेताहरूलाई पार्टीभित्र कुन जिम्मेवारी दिने र क्षेत्र विभाजन के हुने भन्ने दुई विषयमा मोडालिटी तयार पार्दैछ।
यस्तै अखिल क्रान्तिकारीको नेतृत्व चयन तोकिएकै समयमा निर्वाचन गर्ने गरी गृहकार्य पनि भइरहेको छ । शुक्रवार सम्ममा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको माओवादि केन्द्रका नेताले जानकारी दिए।
क्रान्तिकारीको गत १० देखि १५ असोजसम्म चलेको राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने र नलगाउनेबिच विवाद उत्पन्न भएपछि सम्मेलन स्थगित भएको थियो । निर्वाचन समितिले पुस १३ र १७ गते दुई चरणमा निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । पहिलो चरणमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने सम्बन्धी निर्वाचनमा उमेर हद पक्षधर विजयी भएपछि खुला पक्षधरले धाँधली भएको आरोप लगाउँदै आएको छ । धाँधलीबारे निष्पक्ष छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढाउन नदिने उनीहरूले चेतावनी दिँदै आएका छन्।
पुस १७ गते हुने भनिएको नेतृत्व छनोट प्रक्रिया शनिवारबाट सुरु हुँदैछ । नयाँ नेतृत्वका लागि माघ १२ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।