काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध कास्की अदालतमा दर्ता भएको मुद्दामा आज पनि थुनछेक बहस जारी रहनेछ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा बिहीबार लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दैछन्।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहित ७ जनासँगको बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्न दिने भनेर पुस १६ गतेदेखि कास्की अदालतमा थुनछेक बहस जारी छ।
मंगलबार र बुधबार सरकारी वकिलहरूले बहस गरेका थिए। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेका थिए।
उनीहरूले मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने बताएका थिए।
बुधबार नायब महान्यायाधीवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधीवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ ।
कात्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कात्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्व-डिआइजी छविलाल जोशी, जिबीको साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रहरीले प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । दीपेश पुन पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा पाँच हजार ६६९ जना बचकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ जम्मा गरेको भेटिएको छ । केन्द्रीय कार्यालय कालिमाटीमा रहेको सो सहकारीको शाखा न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा पनि खोलेर आर्थिक कारोबार गरेको भेटिएको छ । रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए ।
स्वर्ण लक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा एक करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । रवि र जिबीको नाममा प्रवाह भएको ‘फोर हिृवलर लोन’ र ‘इको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोर्खा मिडियामा गएको एक करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।