मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मुद्दा किनारा नलागेसम्म रवि लामिछानेको सांसद पद निलम्बनमा

मंगलबार, पुष ९ २०८१

काठमाडौ । संघीय संसद् सचिवालयले रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा राखेको सूचना निकालेको छ ।

संसद् सचिवालयका महासचिव पद्यम प्रसाद पाण्डेयले सोमबार जारी गरेको सूचनापत्रमार्फत लामिछानेको सांसद पद निलम्बनमा परेको उल्लेख गरिएको छ ।

लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् ।

उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण अभियोगमा आइतबार मुद्दा दायर भएको थियो ।

उक्त सूचनापत्रमा भनिएको छ–

यसअघि, सोमबार दिउँसो रास्वपा सांदसहरूले सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति लामिछानेको सांसद पद निलम्बन नगर्न आग्रह गरेका थिए ।

सभामुखको कार्यकक्षमा पुगेर रास्वपा सांसदहरू सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका थिए ।

रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको संसद् सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो । तर, रास्वपाका नेताहरूले मुद्दा पर्दैमा सांसद पद निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका थिए ।

रास्वपा प्रमुख सचेतक परियारले प्रहरीको पत्रका आधारमा सभापति रवि लामिछानेलाई निलम्बन गर्न नमिल्ने जिकिर गरेका थियो । यसअघि प्रहरीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भन्दै संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताएकी थिइन् । ऐनको दफा–२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने उनले बताइन् ।