कुन खेलाडीलाई कुन अवार्ड ?
काठमाडौं । घरेलु क्रिकेट इतिहासको अहिलेसम्मकै ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधि जनकपुर बोल्ट्सले जितेकाे छ ।
उपाधि जितेसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ हात पारेको छ । यो नेपाली खेलकुद इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । उपाधि जनकपुरले जित्दा सुदूरपश्चिम उपविजेतामा सीमित भएको छ । उपविजेता भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएको छ ।
ओपनरद्वय लाहिरु मिलन्था र आसिफ शेख चम्कँदा जनकपुर बोल्ट्सले शनिवार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि उचालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि उचालेको हो ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । यससँगै जनकपुरले यसअघि दुई भेटमा व्यहोरेको हारको बदला पनि लियो । च्याम्पियन जनकपुरले एक करोड १० लाख र उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त ग¥यो । लिगमा र पहिलो क्वालिफायरमा सुदूरपश्चिमले सहजै हराएको थियो । फाइनलमा भने जनकपुर हाबी भयो र उपाधि नै उचाल्यो । शुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ओपनरद्वय मिलन्था र शेखले सुदूपश्चिमका बलरमाथि दबाब बनायो ।
यी दुईबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भयो । पावर प्लेमा नै जनकपुरले ७१ रन जोड्यो । तर, ६.६ ओभरमा स्पिनर सैब जैबले आसिफलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे । आसिफले १९ बलमा चार चौका र दुई छक्का हिर्काए ।
अर्का ओपनर मिलन्थाले आक्रामक ब्याटिङ जारी राखे । तर ईशान पाण्डेले मोहम्मद मोहसिनलाई ९ रनमै बोल्ड गर्दै दबाब बनाउने प्रयास गरे । त्यसपछि आएका हर्ष ठाकरले पनि आक्रामक ब्याटिङ गर्दै मिलन्थालाई साथ दिए । तेस्रो विकेटका लागि यी दुईबीच ६१ रनको साझेदारी भयो । १५.३ ओभरमा स्कट कुग्गेलिनले मिलन्थालाई ८७ रनमा कट एन्ड बोल्ड गरे ।
मिलन्थाले ४९ बलमा ९ चौका र चार छक्का हिर्काए । तेस्रो विकेट पतन भए पनि जनकपुर जितनजिक थियो । सात विकेट हातमा हुँदा जनकपुरलाई २७ बलमा १९ रन आवश्यक थियो । तर, सुदूरपश्चिमले थप दुई विकेट लिँदै कसिलो बलिङ गरे पनि जनकपुरले चार बलअगावै जित सुरक्षित ग¥यो । यस क्रममा सुदूरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले जिमी निसामलाई ४ रनमा बोल्ड गरे । आकाश त्रिपाठी २ रनमा रनआउट भए । तर, ठाकर ३० रनमा र मायन यादव २ रनमा अविजित रहे ।
ठाकरले २४ बलमा दुई छक्का हिर्काए । सुदूरपश्चिमले अतिरिक्त १८ रन पनि दियो । सैब, ईशान, स्कट र दीपेन्द्रले समान एक विकेट लिए । सैबले तीन ओभरमा १४ रन मात्र दिए । अन्य बलर भने महँगा साबित भए । राम्रो ब्याटिङ गरे पनि बलिङमा साथ नपाउँदा सुदूरपश्चिम उपाधिविमूख रह्यो । त्यसअघि टस जितेर ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सही साबित भयो । निर्धारित ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८४ रनको योगफल बनायो । ओपनरद्वय विनोद र सैब चम्कँदा सुदूरपश्चिमले विशाल योगफल बनाएको हो । पहिलो विकेटका लागि यी दुईले ११७ रनको साझेदारी गरे ।
विनोद र सैब ब्याटिङ गरिरहँदा सुदूरपश्चिम दुई सय रनको आँकडातर्पm अग्रसर थियो । सुदूरपश्चिमले पावर प्लेमा पनि ४८ रन जोड्यो । त्यसपछि पनि ओपनरद्वयले आक्रामक ब्याटिङ जारी राखे । सुदूरपश्चिमले १०।१ ओभरमा १०० रन पार ग¥यो । १२औं ओभरमा किशोर महतोले साझेदारी तोड्दै ठूलो सफलता दिलाए । किशोरले सैबलाई ६९ रनमा ललित राजवंशीद्वारा क्याच गराए । यससँगै सुदूरपश्चिम ११।६ ओभरमा ११७:१ को अवस्थामा पुग्यो । तर, थप रन नजोड्दै अर्का ओपनर विनोद पनि आउट भए । अर्को ओभरमा ललितले विनोदलाई ४१ रनमा बोल्ड गरे । सैबले ४३ बलमा ८ चौका र दुई छक्का हिर्काए । विनोदले ३१ बल खेल्दै एक चौका र तीन छक्का प्रहार गरे ।
दुई विकेटसँगै सुदूरपश्चिमको रन गतिमा अंकुश लाग्यो । बाँकी ७.४ ओभरमा सुदूरपश्चिमले सात विकेट गुमाउँदा ६७ रन जोड्यो । यस क्रममा सुदूरपश्चिमका ब्याटरबाट ६ बाउन्ड्री मात्र निस्कियो । हरमित सिंह र ब्रेन्डन म्याकमुलन समान १४ तथा स्कट १३ रनमै आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा सुदूरपश्चिम दुई सय रनको आँकडानजिक नै पुग्न असफल भयो । जनकपुरको बलिङमा किशोर र मोहसिनले समान तीन तथा निसम र ललितको नाममा समान एक विकेट रह्यो । ललित मात्र किफायती बने । उनले चार ओभरमा एक मेडनसहित १५ रन मात्र दिए । ललितसँगै हर्ष ठाकरले पावर प्लेमा समान एक मेडन राखेका हुन् ।
एनपिएलको आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।
नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरे।
एनपिएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए ।
‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले पाँच लाख रुपैयाँको चेक प्राप्त गरे ।
जैबले एनपिएलमा सुदूरपश्चिमको लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।
जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे ।
एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाए ।
जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे । उनले दुई लाख रुपैयाँको चेकसमेत प्राप्त गरे। कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित ५० हजार रुपैयाँको चेक प्राप्त गरे । उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट दश लाख रुपैयाँ बराबरको छात्रवृत्तिसमेत प्राप्त गरे ।
यस्तै एनपिएलमा लुम्बिनी लायन्सले भने ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।