बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर डा. निकोलसले खिचेको खुलासा

बिहिबार, पुष ४ २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको फोटो रास्वपाकै कार्यकर्ताले खिचेको खुलासा भएको छ ।

हिरासतकाे कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो ।

रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल तताएका थिए । बिहान स्टाटस हालेका बोहराले केही समयमा फेरि लाइभ बस्दै सरकारमाथि प्रश्नको वर्षा गरेका थिए । तर, उक्त तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको पुष्टि भएको छ ।

सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ ।

भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर आज सो तस्बिर भुसालले हटाएका छन् ।

यसैबीच डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।

भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।