शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : क्वालिफायर टु मा पुग्न कर्णाली र चितवन भिड्दै

बुधबार, पुष ३ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । त्यसमा पनि सुरूवातमै यस्तो खेल हुनेछ कि हार्ने टिम बाहिरिन्छ ।

लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।

लिग चरणको भेटमा चितवनविरुद्ध कर्णालीले बाजी मारेको थियो। कर्णालीविरुद्ध सुरुमा ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा बनाएको १३१ रनको लक्ष्य कर्णालीले चार विकेटको क्षतिमा एक बल बाँकी हुँदा १३२ रन बनाएर पुरा गरेको थियो।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन बनाएका थिए। यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोड्दा जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाएका थिए। बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी-इटनले एक एक विकेट लिएका थिए

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो।

चितवनका लागि रबि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट हात पारेका थिए। रोचक त के छ भने लिगमा तीन खेल खेलेको कर्णालीले चितवनविरुद्ध पहिलो जित निकालेको थियो।

यता, सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।