बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

रविसहित ५१ विरुद्ध तीन मुद्दा, एक अर्ब ५१ करोड ४० लाख बिगो दाबी

मंगलबार, पुष २ २०८१

काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार प्रहरीले आफ्नो तर्फबाट भएको अनुसन्धानको निष्कर्ष, आवश्यक प्रमाण तथा राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

हाल प्रहरी हिरासतमा रहनुभएका रास्वपा सभापति लामिछाने, नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लीला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा प्रहरीले लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत डिएसपी वसन्त शर्माले सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन राय दिएको जानकारी दिए ।

प्रहरीका अनुसार यी ५१ प्रतिवादीमध्ये ३७ जना अझै फरार छन् । प्रहरीले फरार र पक्राउ सबैबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुलउपर गर्नुपर्ने राय पनि सरकारी वकिललाई दिएको छ ।

डीएसपी शर्माले रवि, छवि र जीबीसहित ५१ जनाविरुद्ध तीनवटा मुद्दाको अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो छ ।

पछिल्लो पटक पक्राउ परेका रवि र छविलाल जाेशी सहित पाँचजना, पहिले नै पक्राउ परेर मुद्दा अघि बढेका ९ जना र फरारलाई पनि प्रतिवादी बनाउन राय पेश गरिएको छ ।

यस प्रकरणमा रविलाई गत कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित केन्द्री कार्यालयबाटै पक्राउ गरिएको थियो । उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी पक्राउ परेको पुस २ गते दुई महिना पूरा हु्न्छ ।

रविविरुद्ध यसबीचमा जिल्ला अदालत कास्कीले गत बिहीबार अनुसन्धानका सातौँ पटक म्याद दिएको थियो । अब प्रहरीले दिएको प्रतिवेदन अध्ययन गरिसकेपछि सरकारी वकिलको कार्यालयले चार दिनभित्र मुद्दा अदालतमा लानुपर्ने छ ।

संगठित अपराधको मुद्दामा कानुनत: ९० दिनभन्दा बढी थुनामा राख्न पाइँदैन । त्यहीकारण सरकारी वकिलको कार्यालयले यही शुक्रबारसम्म मुद्दा अदालतमा लानुपर्नेछ ।

रवि मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा उनका साझेदार तथा गोर्खा मिडिया नेट्वर्कका सञ्चालक छविलाल जोशी गत असोज ६ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी पक्राउ परेको आगामी पुस ६ गते ९० दिन पूरा हुँदैछ ।