बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गढीमाई मेलाको कारण रौतहटका अधिकांश पालिकामा विदा

शुक्रबार, मंसिर २१ २०८१

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले मंसिर २६ गतेसम्म स्थानीय सार्वजनिक विदा दिएको छ ।

कटहरिया नगरपालिका ६ दुधियाभार बजारमा गढीमाई मेला लागेको अवसरमा २६ गतेसम्म मातहतका सबै सरकारी कार्यालय र विद्यालयमा पनि विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी गराएका छन् ।

शुक्रबार २१ गते विवाह पञ्चमीको दिन मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिइसकेको छ ।

२२ गते शनिवार साप्ताहिक विदा परेको छ । २३ गते आइतवारका दिन मधेश प्रदेश सरकारले गढीमाई पूजाको सार्वजनिक विदा घोषणा गरिसकेको छ । जिल्लाको अधिकांश पालिकाले २४ गते सोमवारको दिन सार्वजनिक विदा दिएका छन् ।

गढीमाई मेलाको क्रममा २३ गते राँगा बलि तथा २४ र २५ गते बोका तथा परेवा बलि दिइने मेला समितिहरुले तालिका सार्वजनिक गरिसकेका छन् ।

रौतहटमा १५ स्थान, सर्लाहीमा ४ स्थान र बारामा ३ स्थानमा एकै तिथिमितिमा गढीमाई मेला लागेको छ ।

विश्वप्रसिद्ध गढीमाई मेला बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने गरेको छ भने दोस्रो ठुलो गढीमाई मेला रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लागेको छ ।

गढीमाई मेलाको कारण समाजको सबै क्षेत्र प्रभावित बनेको छ । मेला लाग्ने र नलाग्ने करिब सबै पालिकाले बोका बलि दिइने २४ गते सोमवारका दिनसम्म सार्वजनिक विदा दिएका छन् ।

रौतहटमा गढीमाई मेला एउटा बृहद् संस्कृतिको रुपमा विस्तार भएको देखिएको छ ।