बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

छठको दोस्रो दिन : आज बर्तालुहरू ‘खरना’ विधिको तयारी गर्दै

बुधबार, कार्तिक २१ २०८१

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन्।

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।