काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् ।
पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ भने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्दैछ । यो खेल साढे ६ बजे सुरु हुनेछ ।
घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ । यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ ।
नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ । पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलङ्कालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो । त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ ।
सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे ।
नेपाल भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।
नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
नेपाल र भुटानले आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडेपनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो ।