काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।
हिजो संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन राखेका हुन्।
दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलन राखेको जनाइएको छ।
देशमा ठूलो विपद् आउँदा प्रधानमन्त्री विदेश भ्रमणमा बसेको भन्दै चर्को आलोचना भएको थियो।
अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले सोमबार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विरोधका लागि विरोध नगर्न आग्रह गर्दै उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिने बताएका थिए।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिने निर्णय गरिसकेका छन् । ओली अमेरिकाबाट फर्केलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हाे ।