विपद् कोषमा ५० लाख जम्मा गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए ।
साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।
उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् ।
कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. महतले बताए ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय पनि भएको छ ।