बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्वका शक्ति राष्ट्रहरुले राखेको युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

शुक्रबार, असोज ११ २०८१

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सक्रिय हिजबुल्लाह सशस्त्र समूह विरुद्धको सैन्य कारवाही पूर्ण शक्तिका साथ जारी राख्न आफ्नो सेनालाई निर्देशन दिएका छन् ।

अमेरिका, बेलायत, इयु लगायतका केही शक्ति राष्ट्रहरुले अस्थायी युद्धविरामका लागि आव्हान गरे पनि इजरायलले त्यसलाई बेवास्ता गर्दै लडाई जारी राखेको छ ।

हिजो एकै दिनमा इजरायली सैन्य कारवाहीका कारण लेबनानमा ९२ जनाको मृत्यु भएको छ । गत सोमबार यता मात्रै इजरायली हमलामा परी ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

बेरुतको दक्षिणमा रहेको एउटा अपार्टमेन्ट भवनमा भएको हवाई हमलामा हिजबुल्लाहले आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर मारिएको पुष्टि गरेको छ ।

गत सोमबारदेखि लेबनानमा इजरायली हमला नाटकीय रुपमा वृद्धि भएपछि इजरायल र हिजबुल्लाहबीच सर्वत्र युद्धको त्रास बढेको छ ।

दुई मुलुक बीच बढेको शत्रुताले चिन्तित हुँदै अमेरिका, बेलायत र ईयू लगायत १२-बलिया शक्ति समूहले बुधबार इजरायल र हिजबुल्लाहबीच तीन हप्ताका लागि युद्धविराम प्रस्ताव गरेको थियो ।

तर इजरायलले त्यसको बेवास्ता गर्दै लडाईलाई निरन्तरता दिइरहेको छ । संयुक्त राष्ट्रका लागि इजरायली राजदूत ड्यानी ड्याननले आफ्नो देश विचारका लागि खुला रहेको बताएपछि यो प्रस्ताव सुरुमा आशाका साथ हेरिएको थियो । तर इजरायली राजनीतिज्ञहरूले युद्धविराम प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरिसकेका छन् ।