बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश खारेजीको कुरा उठिरहेका बेला देउवाले भने : प्रदेश हटाउन सकिँदैन

बुधबार, असोज २ २०८१

काठमाडौं । नेपाल जस्तो सानो मुलुकका लागि संघीयतासहित प्रदेश अनावश्यक र बोझिलो भएको चर्चा चलिरहेको बोल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश हटाउन नसकिने बताएका छन् ।

काठमाडौंमा मंगलबार कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने तर प्रदेश संरचना हटाउन नसकिने बताए । उनले भने- ‘प्रदेश संरचना हट्ने कुरा छैन। हटाउने अवस्था पनि छैन। यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ ।’

उनले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गरेका छन् ।

संबिधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै सभापति देउवाले भने,’ ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन । साँच्चै भन्ने हो भने ओलीजीलाई मैले पहिलोपटक जेलमा भेटेको हुँ । हामी प्रजातन्त्रका लागि लड्दै आएका छौं । यसलाई मजबुत बनाउने र जनताप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता छ । हामी प्रजातन्त्रको खिलाफमा कुनै काम गर्दैनौं ।’