बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित

बुधबार, असोज २ २०८१

सान फ्रान्सिस्को । टेक जायन्ट कम्पनी मेटाले विदेशी हस्तक्षेप गतिविधि बढाएका कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, हृवाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रूपमा प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो । यूएस स्टेट डिपार्टमेन्टले आरटी लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ।

‘सावधानीपूर्वक विचार गरेपछि, हामीले रुसको राष्ट्रिय सञ्चारमाध्यम विरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौं’, मेटाले बताएको छ । ‘रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिका लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरूबाट प्रतिबन्ध लगाइएको छ’, मेटाले भनेको छ।

सन् २०२२ को फेब्रुवरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रुपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानडा, युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा औपचारिक रुपमा प्रतिबन्ध लगाइएको थियो । आरटीमाथि अमेरिका विरुद्ध भ्रामक सूचना फैलाउने गोप्य परियोजनाको रुपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो।

सन् २०२३ को अन्त्यमा सुरु भएदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिका विरुद्ध लगभग दुई हजार भिडियो पोष्ट गरेको छ । भिडियोहरू युट्युबमा मात्रै एक करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ । मेटाले यसअघि रुसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रसियाको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो ।

रासस/एएफपी