काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वदेशमा र प्रवासमा समेत पार्टी र पार्टीको एजेण्डाप्रति आकर्षण देखिएको दाबी गर्दै राप्रपाले पार्टी संगठनको दायरा बढाउन यस्तो अभियान सन्चालन गर्न लागेको जनाएको छ ।
राप्रपाले २०८१ साललाई पार्टी प्रवेश वर्षको रुपमा नै सन्चालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।
राप्रपाले पार्टीको वडादेखि सबै तहको अधिवेशन गर्ने प्रयोजनका लागि कार्यसम्पादन समितिका सदस्य तोरण बहादुर गुरुङ्गको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ ।
समितिमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, सहमहामन्त्री अमृत पुडासैनी, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्यहरु डा जयन्तनाथ खनाल, भरतजङ्ग उप्रेती र स्वाती थापा छन् । समितिको सदस्य सचिवमा सहमहामन्त्री अधिवक्ता श्याम बहादुर शाहीको मनोनयन यसअघि नै भएको श्रेष्ठले बताए ।
