बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलको बैठक बस्दै

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सोमबार बस्ने भएको छ ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यद्यपि मन्त्रिपरिषद् बैठक समेत सोही समयमा रहेकाले उक्त समय फेरबदल हुनसक्ने बताइएको छ ।

बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आइतबार प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलमा सत्ता साझेदारको बैठक बोलाउने सहमति भएको थियो ।

उक्त छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे पनि कुराकानी भएको बताइएको छ ।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । असार ३१ गते गठन भएको वर्तमान सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यस्तै, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन् ।