काठमाडौं । विभिन्न देशका लागि प्रश्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।
भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने उनले बताइन् ।
समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोलि समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ ।
समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।