काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ।
साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको लागि प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरे अनुसार आज बागमती प्रदेशको बैठक बस्न लागेको हो।
त्यसअघि अहिले पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। पदाधिकारी बैठकपछि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसहितको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने पौडेलले बताए।
बिहीबारसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुँदैछन् । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बोलाएको थियो ।