बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टी फुटको भ्रम चिरिएको छ : प्रचण्ड

आइतबार, भाद्र २ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताएका छन् ।

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको उनको भनाइ थियो ।

शनिवार (हिजो) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गरे।

उनले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाए । उनले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए।

अध्यक्ष दाहालले भने, ‘कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ड रुपले सँगै काम गर्दै आएका छौं । तर उहाँले भनेजस्तो उहाँको स्वभाव र मेरो के हो भन्नेकुरा त सिंगै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैं ठोस्सिने चाहीँ गरेका छौं । अहिले मात्रै होइन । जनयुद्ध कालमा पनि, जनयुद्ध पछि पनि र अहिले पनि । तर यो अगुल्टो ठोस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु–यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकतावद्ध गर्न, अझ उहाँको र मेरो बीचमा बेलाबेलामा हुने आशंकाहरु दूर गर्न र आफ्नो समझदारीलाई मजदुत गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटकको बैठकहरु मैले अलि भिन्न रुपले संचालन गर्ने सोचेको छु । र विवाद र आशंकाको बीचमा पनि, विवाद र बहसको बीचमा पनि मैले सबै कमरेडहरुसँग प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिउँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारी अुनसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मन भित्र भएका सही हुन वा गलत । मनोगत हुन वा वस्तुगत हुन् । जे छन भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने संख्या बढेको छ । मलाई थाहा चाँही हुन्थ्यो । को को ले के गर्दछन भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्को गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्लाकि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउदैछन् भनेको पनि छैन । सोचेको पनि होइन । तर भ्रम नै भ्रम, वरिपरीकाले भन्दैजाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरु लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरु लागि नै रहन्छन् । कहीँन कहीँ आशंकाको तुवालो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईहरुलाई बडो गर्वका साथ भन्नसक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईंहामी सबैको लागि खुशीको कुरा हो ।’

उनले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठकहरु सञ्चालन गरेको बताए ।