बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदर्शनकारीहरूले मेरो बुबाको अपमान गरेका छन् : पूर्वप्रधानमन्त्री हसिना

बुधबार, साउन ३० २०८१

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी छन् । देशलाई स्वतन्त्रता दिलाएका बंगबन्धु शेख मुजिबुर रहमानको अपमान गरिएको भन्दै देशबासीसँग न्याय मागेकी छन् ।

उनले भनेकी छन्- ‘बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ । उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’

उनले आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनिएको छ ।

अगस्ट ५ मा देश छोडेर भारतमा रहेकी हसिनाको विज्ञप्ति उनका छोरा सजीब वाजेदले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन् । मुजिबुर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो । अर्कोतर्फ बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको बिदा रद्द गरेको छ ।

हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन् । म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु ।’