शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रोहितआबद्ध टोरोन्टो नेसनल्सले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

सोमबार, साउन २८ २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले ग्लोबल टी–२० लिग क्यानडाको उपाधि उचालेको छ।

गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए । जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए । चार ओभर बलिङ गर्दा मात्र ८ रन दिएका उनले तीन विकेट हात पारे।

रोमारियो शेफर्डले दुई विकेट लिएको खेलमा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एकएक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो। उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए । ४९ बल खेलेका उनले ८ चौकाको मद्दतमा ५८ रन बनाए । रसिभ भान डरले नटआउट ३० रन जोडे । कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन बनाए ।

टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले एकएक विकेट लिए । फाइनलमा नेपालका कप्तान पौडेल प्लेइङ ११ मा मौका पाएनन्। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।