बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा मुहम्मद युनुस

बुधबार, साउन २३ २०८१

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् ।

मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए ।

नोबेल पुरस्कार विजेता युनुसले लामो समयदेखि शासन गरेकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका थिए ।

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गरेका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ ।

“यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् ।

छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा हुनुहुन्थ्यो तर उहाँमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उनको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भागिन्।

सेना प्रमुख जनरल वेकर–उज–जमानले सोमबार सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै अब ‘हिंसा रोक्ने समय’ आएको बताएका थिए ।

राष्ट्रपतिले मङ्गलबार संसद् भङ्ग गरेका छन् । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बङ्गलादेश नेशसनल पार्टी (बिएनपी) ले संसद् भङ्ग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए ।
एजेन्सी