काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबल प्रतियोगिताअन्तर्गत आज लिगको अन्तिम खेलमा घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपराह्न ३:१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।
दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को ऐतिहासिक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले पराजित बन्यो।
योसँगै नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ।
हुनत: नेपालले यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगै सेमिफाइनलमा इरान, भारत र श्रीलङ्का पुगेका छन् ।
लिग चरणको अन्तिम खेल आज नेपाललले माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै आज नै हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने छ ।