काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।
पेन्सिलभेनियामा चुनावी र्यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको त्यहाँस्थित सञ्चारमाध्ययमले जनाएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि उनी सुरक्षित छन्। उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका छन्।
प्रत्यक्षदर्शीलाई उदृत गर्दै विदेशी सञ्चारमाध्ययमहरूमा उल्लेख भए अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो। त्यसक्रममा चलेका गोलीका थुप्रै आवाजहरू सुनिएको थियो।
रोयटर्समा सार्वजनिक तस्बिरमा ट्रम्पको अनुहारमा रगत बगेको देख्न सकिन्छ। ट्रम्पले पनि गोली चल्नबित्तीकै हातले कानलाई समातेका थिए।
बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।
अमेरिकीको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन् ।