'सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हाेस्'
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उनले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताए ।
सांसद लेखकले बाढीपहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए।
उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने चाहन्छु।’
सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे ।
उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराएका छन् ।