काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
आज बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गर्यो ।
अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो।
दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।
ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।