काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले बलियो टोली अस्ट्रेलियामाथि ऐतिहासिक जीत निकालेको छ ।
आइतवार बिहान भएको सुपर ८ को खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।
अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एकरएक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो ।
गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अरु ब्याटर चलेनन् ।
अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।
अफगानिस्तानसँगको हारसँगै समूह १ को अस्ट्रेलिया दुई अंकमा सीमित भएको छ। दोस्रो खेलमा पहिलो जित निकालेको अफगानिस्तानलेसमेत दुई अंक जोडेको छ।
रनरेटको आधारमा तालिकामा भने अस्ट्रेलिया दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन्। समूह १ मा चार अंकसहित भारत शीर्ष स्थानमा छ भने बंगलादेश अंकबिहीन छ। अस्ट्रेलियाले सुपर ८ को अन्तिम खेल सोमबार भारतसँग खेल्दैछ।
सेमिफाइनल प्रवेशका लागि भारतसँगको यो खेल अस्ट्रेलियाका लागि ‘गर या मर’ को हुने छ ।