बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रविका निम्ति सत्ता निल्नु न ओकल्नु

बिहिबार, असार ६ २०८१

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई सत्ता निल्नु न ओकल्नु बन्न थालेको छ । खासगरी सहकारी ठगी प्रकरणका मुख्य नाइके जीबी राई पक्राउ नगरी उम्काउन खोजेको आरोप लागेको छ भने सत्ताको उपयोग गरि लागेका अभियोग नामेट पार्न लामिछाने सक्रिय रहेको प्रतीत हुन्छ।

यहाँसम्मकी लामिछानेका दाजु हरिशरण लामिछानेले त चुनौतीका साथ यस्तो अभियोग लगाएका हुन्। नागरिकता प्रकरणमा सहयोग गरेका हरिशरणले रविमाथि, खासगरी आफ्नै भाईमाथि लगाएको यो आरोपलाई गाम्भिर्यताका साथ हेरिएको छ।

‘जे भनेर राजनीति गरेको थियो, त्यो भएन। सत्तामा जान हतार भयो। अनि, आफूमाथि लागेका आरोपको जवाफ दिनुको साटो, छानबिनमा सहयोग गर्नुको साटो मेटाउनतिर लाग्नुलाई नयाँ राजनीति भनिँदैन’, हरिशरणको भनाई छ।

नेपाली कांग्रेससहित चौतर्फी घेराबन्दीमा रहेका रविमाथि आफ्ना दाजुले पनि संगीन अभियोग लगाएपछि उनी नैतिक रुपमा पतित भइसकेका छन्। अझ पोखराको सूर्यदर्शन सहकारीका पीडितले त रविमाथि ठाडो अभियोग लगाइसकेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीलाई उपयोग गरी सर्वोच्च अदालतमा गलत पत्र र उत्तर दिन लगाएको भन्ने आक्रोशमा छन् पीडित। ति मध्यका सबैजसोले कुनै पनि राजनीतिक दलका नेता आए कालो झन्डा देखाउने सार्वजनिक घोषणा नै गरेका छन्।

एकातिर ठगीको अभियोग झेलीरहेका रविका लागि गृह मन्त्रालयमा गरेको चलखेलको आरोप समेत लागेको छ। प्रहरी संगठन नै ध्वस्त पार्नेगरी उनले ठूलो रकममा बढुवा सरुवाको काम गरेकोलगायतका आरोप लागेका छन्।

यति मात्र होइन हालका प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई हटाएर नागरिकतालगायतका विवादमा तानिएका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्याम ज्ञवालीलाई अगाडि बढाउने तयारी गरेको आरोप पनि लागेको छ।

आरोपै आरोपकाबीच सत्तारोहण गरिरहेका रवि नेतृत्वको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भनेका छन्,‘हामी एक पटक सत्ताबाट निस्किएपछि फेरि नजाने भन्ने थियो। आगामी असार ७ गते २ बर्ष पुग्दै गर्दा पार्टीले लिएको निर्णयको समीक्षा गर्ने किन नगर्ने? हामी किन सत्तामा गयौं?’
यस्ता अनेक प्रश्नको घेराबाट रवि उम्किन नसक्दा सत्ता अहिले काउछो जस्तो बनेको छ।